कैलाली। धनगढी उपमहानगरपालिकाभित्रका पाँच वटा सामुदायिक विद्यालयलाई नमुना बनाइने भएको छ। उपमहानगरपालकाले नगर क्षेत्रभित्रका ग्रामीण भेगका पाँच वटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने योजना अघि बढाएको हो ।
नमूना विद्यालय बनाउनका लागि पाँच वटै विद्यालयले पञ्चवर्षीय प्रस्ताव उपमहानगरमा पेस गरेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।
प्रस्ताव आएका सामुदायिक विद्यालयको उपमहानगरले अनुगमन गरिसकेको छ । पहिलो चरणमा धनगढी उपमहानगरपालिका–९ स्थित भवानी मावि, वडा नं ११ स्थित ठेकराज मावि, वडा नं १२ स्थित सिद्धनाथ मावि, वडा नं १६ स्थित बेहडाबाबा मावि र वडा नं १८ को चन्द्रोदय माविलाई नमूना विद्यालयका रुपमा अघि बढाइने छ।
नमूना विद्यालय विकासको प्रस्ताव उपमहानगरमा पेस भएकाले ती अध्ययन भइरहेको छ । विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ । धनगढी उपमहानगरपालिकाले नमूना विद्यालयले पठनपाठनको भाषा अङ्ग्रेजी बनाउने, शैक्षिक गुणस्तर कायमका लागि निःशुल्क शिक्षा शिक्षकहरूको क्षमता विकास गर्न शिक्षक तालिमको व्यवस्था गर्ने र अपुग शिक्षक उपमहानगरले नै भर्ना गर्ने योजना रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।