कालीकोट। पहिरोको जोखिमबारे जानकारी दिन कालीकोटमा वर्षामापन यन्त्र (रेन गज) स्टेसन जडान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा कोटवाडा विमानस्थल हातामा रेन गज जडान गरिएको हो ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना २०८० मा यहाँका ७ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा राख्दै सर्तकताका लागि आह्वान गरेको छ ।
पहिरोको उच्च जोखिममा रहेको स्थानीय तहहरूको बीचमा पर्ने कोटवाडा विमानस्थलमा रेनगज स्टेशन जडान हुँदा वर्षाको मापन गर्न सहज हुने बताइएको छ।
पहिरोको उच्च जोखिममा पर्ने नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, खाडाचक्र र शुभकालिका आसपासमा हुने वर्षा मापन गरी स्थानीयलाई सम्भावित पहिरोबाट बच्न पूर्व सूचना दिने उद्देश्यले रेन गज स्टेसन राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।