कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै निर्माण कार्य अगाडि बढ्ने बताएका हुन्।
उनले भने, ‘दुई देशबीच डीपीआरमा सहमतिपश्चात निर्माण कार्य तत्कालै सुरु हुनेछ। सुख्खा बन्दरगाहले नेपाल र भारतबीचको व्यापारसँगै आर्थिक सम्बन्ध समेत बढाउनेछ ।’ उनले डीपीआर निर्माणको जिम्मा राइट कन्सल्ट्यान्टले पाएको र एक चरणको डीपीआर परिवर्तन गरेर अर्को चरणको निर्माण कार्य भइरहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला दोधारा चाँदनीमा ३ वर्षभित्र सुख्खा बन्दरगाह निर्माणका लागि सहमति भएको थियो । सहमतिअनुसार सुख्खा बन्दरगाहको निर्माण भारतले र्नै गर्नेछ । त्यहीअनुसार भारतीय पक्षबाट अहिले डीपीआर निर्माणको काम भइरहेको हो ।