नेपालगन्ज। कोहलपुर नगरपालिका अन्तर्गतको वडा १० कार्यालयले स्थानीय अस्थायी प्रहरी बिट एवम् ट्राफिक प्रहरीलाई सहयोगी सामग्री उपलब्ध गराएको छ।
कोहलपुर क्षेत्रमा सडक दुर्घटना बढ्दै गएकाले न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न ट्राफिक प्रहरीलाई सहयोगी सामग्री हस्तान्तरण गरिएको हो।
अस्थायी ट्राफिक प्रहरी पोष्ट हाइस्कूल तथा १ नम्बर प्रहरी बिटको अनुरोधमा ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले सचेतनामूलक नारा लेखिएका ब्यारिगेटरसहित सचेतनामूलक बोर्डहरू वडा कार्यालयमार्फत उपलब्ध भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ।।
कोहलपुर नगरपालिका १० वडाअध्यक्ष गौरा भट्टराईले ८ थान ट्राफिक सचेतनामूलक नाराहरू लेखिएका ब्यारिगेटर, २–२ थान हर्न निषेध बोर्ड र यात्रु चढाउने ओराल्ने बोर्डसहित २ हजारप्रति सचेतनामूलक पर्चा, पम्पलेट हस्तान्तरण गरिएको जानकारी दिए।