काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको यति एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आठ महिनाअघि भएको दुर्घटनाबारे आयोगले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो।
०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको एटीआर विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा मन्त्री किरातीलाई बुझाइएको आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार यस घटनासँग सरोकार राख्ने विभिन्न मुलुकको अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ।
प्रतिवेदन अनुसार जहाजको प्राविधिक कारणले दुर्घटना नभएको बुझिएको छ ।
घटनालगत्तै सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले यसअघि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै यतिको दुर्घटना मानविय (चालक दल) का कारण भएको जनाएको थियो । पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको उक्त घटनामा चालकदलका ४ सदस्य र ६८ यात्रुसहित जहाजमा सवार सबै ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।