पर्वत। पर्वत र बाग्लुङ खण्डमा पर्ने कालीगण्डकी नदी किनारमा नदीजन्य पदार्थको अवैद्य दोहन गर्ने स्क्साभेटर र तीन वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से भन्ने स्थानको कालीगण्डकी किनारबाट स्थानीयवासीले एक्साभेटरसहित तीन वटा बालुवाले भरिएको ट्रिपर नियन्त्रणमा लिएका हुन्।
रातिको समयमा एक्साभेटरसहित बालुवाले भरिएका तीन वटा ट्रिपर नियन्त्रणमा लिइएकोमा एउटा भागेको र दुई वटा जिल्ला प्रशासन र प्रहरीलाई बुझाइएको स्थानीयले बताए।
क्रसर व्यवसायीसँगको मिलेमतोमा स्थानीय भक्त थापाले अवैद्य ढङ्गले नदीबाट नदीजन्य पदार्थ निकालेर बजार क्षेत्र नै जोखिममा पार्ने काम भएको स्थानीयले आरोप लगाएका छन्।
स्थानीयवासीले बिहीबार फर्से बजारमा प्रशासन, प्रहरी र सरोकारवालाको भेला डाकेर अवैद्य दोहनले निम्त्याएको जोखिम रोक्न माग गरेका छन् ।
फर्से बजारसँगै रहेको कालीगण्डकी नदीमा अवैद्य दोहन गरिँदा किनारमा रहेको शिवालय चौपारीघाटको संरचना नै हराएको छ भने शिव माध्यामिक विद्यालय, स्वास्थ्य चौकी भवन, कृषि उपज केन्द्रको भवन लगायत मानववस्ती समेत जोखिममा छ ।