काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको छ । विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले क्यानले यस्तो आग्रह गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले विमानस्थल क्षेत्र आसपासमा पहिलेदेखि नै चङ्गा, ड्रोन, बेलुन उडाउन निषेध गरिएको भएपनि दसैँ तिहार लगायतका चाडपर्व नजिकिँदै गएकाले उक्त समयमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य नहोस् भन्नका लागि आग्रह गरिएको बताए।
प्राधिकरणले विमानस्थल क्षेत्र आसपासमा उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध सहितको एक सूचना प्रकाशित गरेको छ ।