दाङ । लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय स्थलको पूर्वाधार निर्माणमा बेलायतले प्राविधिक सहयोग गर्ने भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र बेलायती राजदूत रोबफिन तथा बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच मुख्यमन्त्री कार्यालयमा देउखुरीमा भएको शिष्टचार भेटघाटमा लुम्बिनी सरकारले ल्याएको बजेट र योजनामा बेलायतले आर्थिक तथा प्राविधिक सहयोग गर्नेबारे छलफल भएको हो।
प्रदेश सरकारले सुरु गरेको आर्थिक विकास कार्यक्रमलाई प्रभावकारी बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाएको मुख्यमन्त्री चौधरीका प्रेस सल्लाहकार गोपाल भट्टराईले बताए । यसका केही बजेटसहित प्राविधिक सहयोग गर्ने राजदूत रोबफिन र निर्देशक बर्डले प्रतिबद्धता जनाएको छ। कति आर्थिक सहयोग भन्नेबारे भने तोकिएको छैन।
मुख्यमन्त्री चौधरीले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम शीर्षकमा डेढ अर्ब छुट्टाएका छन् भने डेढ अर्ब रुपैयाँ संघीय सरकारबाट ल्याएर कृषि, पर्यटक, उत्पादन र मदिरा उद्योगबाट १२ जिल्लाका ६ लाख युवा तथा महिलालाई ५ वर्षभित्र स्वरोजगार बनाउने लक्ष्य अघि सारेका थिए । त्यही कार्यक्रममा बेलायतले प्राविधिक रुपमा सहयोग गर्ने भएको हो ।
प्रदेशको दोस्रो आवधिक योजना निर्माणमा सहयोग, संस्कृति पर्यटन विकास, ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पोषण, शिक्षा र स्वास्थ्यका विषयमा छलफल भएको छ।