म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल सञ्चालनमा आएको छ । पुल सञ्चालन भएपछि खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको हो।
सात वर्षअघि बेगखोलामा आएको बाढीले ‘बेलीब्रिज’ बगाएपछि बर्खायाममा खोलाबाट सवारीसाधन वारपार गर्नुपर्ने समस्या थियो । पुलमा शनिबारदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको बताइएको छ।
सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो ।
एघार मिटर चौडाइ भएको पुल डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो । वि. सं. २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअगावै निर्माण सम्पन्न हुन लागेको सडक विभागको पश्चिम सेक्टर कार्यालयले जनाएको छ।
मोटरेबल पुल पुनःनिर्माण भएपछि बर्खायाममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झन्झट हटेको छ ।