काठमाडौं। भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । नगरपालिकाले छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रमको आयोजना गरी प्रशारण लाइन भूमिगत गर्ने बारे जानकारी गराएको हो।
वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताए।
आयोजनाका इञ्जिनीयर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रशारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताए । नगरप्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको बताए।