काठमाडौं। जेठबाट उडान रोकेको कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान गर्ने भएको छ । व्यावसायिक कारण देखाउँदै गत जेठबाट बन्द भएको जजिराको उडान आगामी कात्तिक १५ गतेदेखि पुन सुरु गर्ने तयारी गरेको हो।
जजिराले गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएकै दिनदेखि गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको थियो। प्रतिकूल मौसमसहित आन्तरिक कारण देखाउँदै गत पुस ६ देखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ देखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ देखि उडान रोकेको छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जजिराले हिउँदे उडान तालिका अनुसार नोभेम्बर पहिलो तारिख देखि उडान गर्न चाहेको छ।
यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुवेत भैरहवा उडान गर्दै आएको थियो ।