अन्नपूर्ण। कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको हो।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे । चार किलोमिटर लामो पदमार्ग निर्माणका लागि मन्त्रालयले रू पाँच लाख सहयोग गरेको बताइएको छ।
चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। पदमार्गले दुईवटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको छ।
पदमार्ग निर्माणपछि एक दिन भए पनि पर्यटकको बसाइ लम्बिने स्थानीयले बताए। पदमार्गको करिब दुई किलोमिटर क्षेत्रमा वनजङ्गल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनिहरुको भनाइ छ।