काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका लागि जहाज किन्दा भ्रष्टाचार नहुने दाबी गरेका छन्। पर्यटन दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले जहाज खरिद प्रक्रियामा भ्रष्टाचारको भ पनि नजोडिने बताएका हुन्।
उनले भने, ‘हामीले बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले, धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छौं । जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढंगले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढंगले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको भ जोडिने छैन।’
समुद्रसँग नजोडिएको देशको पर्यटनका निम्ति जहाज नै महत्वपूर्ण मेरुदण्ड हुने मन्त्री किरातीले बताए । उनले नेपाली आकाशलाई कालोसूचीबाट हटाएर पर्यटकको विश्वसनीय गन्तव्य बनाउने समेत बताएका छन् ।