चितवन। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ। मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएको हो ।
मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ।
यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने छ। यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने बताइएको छ।
मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पु¥याइएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ।