काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ।
उडान नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टर उडानमा रोक लगाएको हो।
लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले ती एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो।
मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको उनको भनाइ छ।