इलाम। इलाम नगरपालिकाले मेची राजमार्गको माइखोला भञ्ज्याङ खण्ड मर्मत कार्य सुरु गरेको छ । सडक मर्मत नभएको भन्दै आलोचना बढ्न थालेपछि इलाम नगरपालिकाले मर्मत कार्य सुरु गरेको हो।
सडकमा गाडी गुड्न समस्या हुन थालेपछि नगरपालिकाले सडक मर्मत गर्न थालेको हो । पक्की सडक भए पनि क्रमशः बिग्रिन थालेपछि सवारी व्यवसायी तथा यात्रुलाई समस्या हुँदै आएको छ । पक्की सडक कच्चीमा परिणत हुन थालेपछि बर्खामा हिलो र हिउँदमा धुलो उड्ने गरेको छ ।
मझौला सवारी दुःखसुख चले पनि साना तथा ठूला सवारीलाई यो सडकमा समस्या हुँदै आएको छ । भासिएर सडक नै अवरुद्ध नै हुने गरेको छ । झापाको चारआलीदेखि ताप्लेजुङसम्म यो सडक पुगेको छ । चार जिल्ला जोड्ने सडकको काम गर्न सम्बन्धित पक्षले बेवास्ता गरेपछि इलाम नगरपालिकाले मर्मत गर्न थालेको हो । माइखोला राजदुवालीदेखि भञ्ज्याङसम्म करिब तीन किलोमिटर खण्डमा पर्ने मेची राजमार्ग अहिले धेरै स्थानमा बिग्रिएको छ ।