काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको देश दर्शन अभियानका लागि वार्षिक एक अर्ब ८६ करोड खर्च हुने भएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीलाई बर्सेनि घुम्न बिदा र खर्च उपलब्ध गराउन मन्त्रालयले प्रस्ताव गरेको यो अभियान कार्यान्वयनको प्रक्रियामा पुगेको छ। यस अभियानका लागि वार्षिक एक अर्ब ८६ करोड रुपैयाँ खर्च हुने देखिएको हो।
यो योजना लागु भए सरकारी कर्मचारीले वर्षमा १० दिन घुमघाम बिदासँगै खर्च पनि पाउने छन्। देश दर्शन अभियानका लागि मन्त्रालयले प्रावधान बनाइसकेको प्रवक्ता टोकराज पाण्डेले बताए।
प्रस्तावित योजनाअनुसार देश भ्रमणका लागि प्रत्येक कर्मचारीलाई २० हजार रुपैयाँ खर्च सरकारकै तर्फबाट दिइने उनले जानकारी दिए। आलोपालो झण्डै ९३ हजार कर्मचारीले भ्रमण गर्ने छन् ।