भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ। गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो।
मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।
अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिकाले जनाएको छ। अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।