नवलपरासी। पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको हो।
देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिकरूपमा भ्रमणमा पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ ।
राजमार्गबाट नजिकको पहाडी क्षेत्रका रूपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भू–भाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भू–भाग, राजमार्ग आसपासका घना बस्ती सहजरूपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भू–भाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्यसमेत सहजरूपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ ।