पूर्वी नवलपरासी। अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य पदार्थसहित १७ वटा गाडी र चालक पक्राउ परेका छन्। अरुङखोलाबाट आइतबार राजस्व छली सामान ढुवानी गरेको अवस्थामा प्रहरीले १७ वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो।
राजमार्ग निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका लागि खोलाजन्य पदार्थ बिक्री गर्न लागेको अवस्थामा १७ वटा मालवाहक टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मध्यविन्दु–१३ मा रहेको सुपा निर्माण कम्पनीले एउटा गेटपासको भरमा कर छली गरेर पूर्वी नवलपरासीबाट पश्चिम नवलपरासीको भुमहीका लागि सामान पठाउन लागेको थियो । बरामद गाडीलाई कारबाहीका लागि मध्यविन्दु नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ।