वीरगञ्ज। वीरगञ्जस्थित घण्टाघरमा जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरी गर्ने दुई जना पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका–८ निवासी १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई प्रहरीले घण्टाघर क्षेत्रबाटै पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गत शुक्रबार राति तोडफोड तथा चोरी भएको थियो ।
सिसिटिभीमा कैद भएको दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ।