जुम्ला। जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ। विमानस्थल विस्तारका लागि बजेट विनियोजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कार्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निर्देशन दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको हो।
मन्त्रालयले विमानस्थल विस्तारका लागि चार करोड बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त बजेट खर्च नभएर फ्रिज भएको जिल्लास्थित उड्डयन कार्यालयले जनाएको छ।
लामो समयदेखि विमानस्थल विस्तारको बहस चले पनि काम हुन सकेको थिएन। चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले चार करोड ४२ लाख ४७ हजार सात सय ८७ रुपैयाँ विनियोजन गरेसँगै काम अगाडि बढाउन सकिने बताइएको छ। जुम्ला विमानस्थल हाल छ सय ७० मिटर लम्बाइ, २० मिटर चौडाइसम्म छ । उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकाले आवश्यक समन्वय गर्न जिल्लास्थित उड्डयन कार्यालयलाई निर्देशन दिएको छ । उक्त बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने जुम्ला विमानस्थल कार्यालयले जनाएको छ।
अप्रोनदेखि जहाजसम्म जाने बाटो, ट्याक्सीलगायतका संरचना निर्माण हुनेछन् । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभए पनि चाँडै केही रकम विनियोजन हुने आशामा रहेको कार्यालयले जनाएको छ।