काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग अनुगमनमा गएकी मन्त्री गुरुङले भवनको कार्य प्रगति सन्तोषजनक नभएको भन्दै हचुवाको भरमा सरकारले ठेक्का सम्झौता अवधि थप गर्न नसक्ने बताएकी हुन्।
उनले असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोहीअनुसार नभएको बताइन्।
मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै शुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताए । म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिना भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताइन्।
सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो। यसबीच कोरोना महामारीका कारण त्यो सम्भव भएन र पहिलो पटक छ महिना म्याद थप गरी निर्धारित समय २०८० वैशाख १४ गते पुर्याइयो। पहिलो पटक थप भएको म्यादभित्र पनि निर्माण सम्पन्न नभएपछि दोस्रो पटकका लागि अर्को छ महिना म्याद थप गरी २०८० साल असोज १६ गते पुर्याइएको थियो।
हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ।