म्याग्दी। म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन्। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि म्याग्दीका मुख्य सडक अवरुद्ध बनेका हुन्।
बेनी–जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२ नैनिबगर र वडा नं ३ को गुइँठेलगायत क्षेत्रमा पहिराले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भिर र मालिका गाउँपालिका–६ को बाङ्गेमा पहिरो गएपछि सडक अवरुद्ध बनेको छ।
वर्षा नरोकिएको कारण पहिरो पन्छाएर सडक खुलाउन समेत समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुनसकेको छैन । बेनी–जोमसोम सडकखण्ड पहिराले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्री अलपत्र परेका छन्।