काठमाडौं। पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐरले नेपालको पर्यटनमा सांस्कृतिक सम्पदाहरूको विशिष्ट महत्व रहेको बताएका छन्।
निर्देशक ऐरले नेपाल प्रकृति, संस्कृति र साहसिक गरी तिनै खालको पर्यटकीय गतिविधिका लागि उपयुक्त स्थान रहेको उल्लेख गर्दै त्यसमा पनि नेपालको पर्यटनमा सांस्कृतिक सम्पदाहरूको विशिष्ट महत्व रहेको बताएका हुन्।
नेदरल्यान्डको इरासमस युनिभर्सिटी अन्तर्गत इन्स्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलपमेन्ट स्टडिज र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक सम्पदा तथा हरित बृद्धि सम्बन्धि भर्चुअल तालिम समापनका अवसरमा आफ्नो धारणा राख्दै उनले दिगो पर्यटनका यस्ता सम्पदाहरूको संरक्षण आवश्यक रहेको बताए। दिगो पर्यटनका लागि पर्यटन बोर्डले समेत दिगो पर्यटन सञ्जाल निर्माण गरि काम गरिरहेको समेत निर्देशक ऐरले जानकारी दिए ।
कार्यक्रममा दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भिर बन्नुपर्ने बताएका छन् ।
कार्यक्रममा तालिमका मुख्य स्रोत व्यक्ति मार्जरी भन स्टेइनले नेपाल जस्तो सांस्कृतिक सम्पदामा धनी देशले यी सम्पदा संरक्षणमा उचित ध्यान दिन आग्रह गरे ।