काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ लाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यवहारिक रुपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।
उनले कार्ययोजनालाई छिट्टै मन्त्रिपरिषद्मा प्रस्तुत गरिने र पारित गरेर राष्ट्रिय कार्यभारका रुपमा अगाडि बढाइने भएकाले कार्यान्वयनको स्पष्ट मार्ग पहिल्याउनुपर्ने बताए । मन्त्री बस्नेतले बिजुलीको आन्तरिक खपत बढाउने र बढी भएको निर्यात गरिने भएकाले त्यसतर्फ पनि क्रियाशिल भएर लाग्नुपर्ने उल्लेख गरे ।
मन्त्रिस्तरीय निर्णयबाट गत असार २६ गते ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले गत भदौ २६ गते मन्त्री बस्नेत समक्ष प्रतिवेदन पेश गरेको थियो । सो मार्गचित्र अनुसार सन् २०३५ सम्म कूल माग २८ हजार चार सय ६८ मेगावाट पुग्ने भएकाले सोही अनुसारको तयारी गर्नुपर्ने आवश्यकता रहेको ठहर गरिएको छ । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने विषयमा सहमति भएको छ । यस्तै पाँच हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी छ ।