पर्वत। पर्वत जिल्लामा पहिलो पटक नागरिकमैत्री हेलिप्याड निर्माण भएको छ । जलजला गाउँपालिका–४ को भवानीपानीमा प्राकृतिक विपत्, बिमारी, दुर्घटनाका बेला नागरिकलाई हवाई साधनद्वारा सेवा प्रदान गर्न हेलिप्याड निर्माण गरिएको हो ।
हेलिप्याडको निर्माणका लागि जनशक्ति र प्रविधिको सहयोग नेपाली सेनाको श्री रणभीम गुल्म पर्वतले गरेको छ।
ऐतिहासिक, धार्मिक तथा पौराणिक दृष्टिले महत्त्व राख्ने कालाञ्जर पर्वत जलजलामा पर्छ । जलजला क्षेत्रको पर्यटन प्रवर्धनका लागि समेत हेलिप्याडले सहयोग गर्ने विश्वास लिइएको छ।
जलजलामा निर्माणाधीन १० शय्याको पालिकास्तरीय अस्पतालबाट केही नजिकै रहेको हेलिप्याडबाट इमर्जेन्सी रिफर गरिने बिरामीलाई हवाई सेवामार्फत थप उपचारका लागि पोखरा र काठमाडौँ लैजान सकिने भएको छ।
पालिकाका १ देखि ५ वडामा बसोबास गर्ने करिब ७ हजार सर्वसाधारणलाई हेलिप्याडले भैपरी आउँदा प्रत्यक्ष लाभ दिनेछ ।