गोरखा। गोरखा जिल्लाको सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गरिने भएको छ। गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको हो।
बहुवर्षीय योजनाअन्तर्गत गर्न लागिएको सडक विस्तारको पहिलो चरणमा गोरखा–६ स्थित पुरानो बसपार्कदेखि वडा नं ८ को खोलखोलेसम्म सडक विस्तारसँगै सुविधा सम्पन्न फुटपाथ निर्माण गरिने नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।
नगरपालिकाले सडक विस्तारका लागि प्राविधिकसहितको टोली परिचालन गरी पुरानो बसपार्कदेखि खोलखोले क्षेत्रसम्मको नापजाँचसमेत गरिसकेको छ । सडक विस्तार गर्न पहिलो चरणमा नगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सडक चौडा गरी नयाँ नाला निर्माण गरेर त्यहाँ भएका क्यारीलाई फालेर सुविधा सम्पन्न फुटपाथसहित बत्तीको व्यवस्था गर्दा करिब १२ करोड रुपैयाँ जति खर्च लाग्ने अनुमान गरिएको छ।
पुरानो संरचना बनाएर सुविधा सम्पन्न संरचना निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।