काठमाडौं। धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन्।
धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनामा करिब दुई अर्ब ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ।
परियोजनाको कार्यान्वयनपछि दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आईसीयू, र बाहिरी बिरामी परामर्श कक्षसहितको ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई, सीटी, जस्ता चिकित्सा उपकरण उपलब्ध गराएर चिकित्सा सेवालाई सुदृढ हुनेछ ।