काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल युरोपेली सङ्घ (ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गरेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे ‘अडिट’ गरेर गएकाले नेपाल ईयूको सुरक्षा सूचीबाट हट्ने बताएका हुन्।
उनले भने, ‘नेपालको हवाई क्षेत्र ईयूको सुरक्षा सूचीबाट चाँडै हट्नेछ । यही सेप्टेम्बर ११ देखि १५ सम्म ईयूको टोलीले अडिट गरेर गएको छ । प्राधिकरण विभाजनसम्बन्धी विधेयक पनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषद्मा गएको छ।’। ईयूको प्राविधिक टोलीले ‘अनसाइड अडिट’ गरेर गएको प्राधिकरणले जनाएको छ ।
ईयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो ।