दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–७ र ८ को सिमानामा रहेको चर्नावती खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ। सङ्घीय सरकार तथा नगरपालिकाको सहकार्यमा ३३ लाख लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो।
पुल निर्माणको काम उपभोक्ता समितिमार्फत र फलामका लट्ठालगायतका सामग्री व्यवस्थापन ठेक्कामार्फत गरिएको छ।
पुलको लम्बाइ ४९.१० मिटर रहेको नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन कार्यालयले जनाएको छ। पुल निर्माण भएपछि हात्तीछहरा पुग्न करिब एक घण्टा छोटो भएको छ । पर्यटकीय स्थल हात्तीछहरा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि नै यो पुल निर्माण गरिएको हो ।
वडा नं. ७ साखिनेबाट करिब साढे चार किलोमिटर कच्ची मोटरबाटो गएपछि पैदल हिँड्नुपर्नेमा यो पुल निर्माण भएपछि त्यहाँ पुग्न अब एक घण्टा मात्र लाग्छ ।