काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्नका लागि ‘विद्युत विधेयक, २०८०’ प्रस्तुत गरिएको बताएका छन्। मन्त्री बस्नेतले प्रतिनिधि सभाको बैठकमा विद्युत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ विधेयक प्रस्तुत गरेको बताएका हुन्।
उनले ऊर्जा क्षेत्रको समग्र विकास र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई समेत सम्बोधन गर्ने प्रयास गरेको दाबी गरेका छन्।
वर्षायाममा बढी बिजुली उत्पादन हुने र हिउँदमा एक तिहाइमात्रै उत्पादन भई असन्तुलित रहेको अवस्थालाई ख्याल गरेर जलाशय र अर्धजलाशयुक्त प्रकृतिका आयोजना निर्माणलाई जोड दिइएको मन्त्री बस्नेतको भनाइ छ।
उनले प्रस्तावित विधेयकमा ठुला विद्युत् आयोजना सङ्घीय सरकारले, २५ मेगावाटसम्मका आयोजना प्रदेश सरकार र पाँच मेगावाटसम्मका आयोजना स्थानीय सरकारले अगाडि बढाउने गरी प्रस्ताव गरिएको जानकारी दिए।