काठमाडौं। निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी ६/७ महिनाभित्र आयोजनाबाट १४ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुनेछ।
बाढी पहिरो, भूकम्प, कोभिड संक्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको बताइएको छ। कार्यकारी निर्देशक कूलमान घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत् गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए।
घिसिङले ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिवार स्थलगत निरीक्षण गरेका थिए। यी २ आयोजनाले भने १ वर्षभित्र विद्युत उत्पादन गर्ने बताइएको छ।
माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट यी ३ जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण शुरू भएको हो। चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन्।
उज्यालो नायकका रूपमा परिचित घिसिङको भ्रमणले रसुवामा सञ्चालित अन्य विद्युत् आयोजना लक्षित समयमा पूरा गराउन प्राविधिकलाई थप हौसला बढेको र आगामी दिनमा उनको भ्रमणले निरन्तरता पाइरहने आफूहरू आशावादी रहेको विद्युत् क्षेत्रमा कार्यरत प्राविधिकले जानकारी दिए।
चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत शेयर जिल्लावासीलाई उपलब्ध गराई खरिद गर्न नसक्नेका लागि बैंकबाट ऋणको समेत व्यवस्था मिलाउने कार्यमा कार्यकारी निर्देशक घिसिङले योगदान दिएका थिए।