काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा कृत्रिम ताल निर्माण गरिने भएको छ। वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बाग्मती प्रदेश सरकारको सहयोगमा कृत्रिम ताल निर्माण गरिने भएको हो।
हिले जलजले ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल निर्माण गरिन लागेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। यसअघि प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले डिभिजन कार्यालयमार्फत ताल निर्माण गर्न लागको हो ।
प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माण गर्न गत वर्ष डिपिआर तयारपछि प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनलाई केही परिमार्जन गरी ताल निर्माणार्थ रुख कटानका डिभिजन वन कार्यालयमा प्रक्रिया अघि बढाइएको छ । रुख कटानको आदेश आएपछि काम अघि बढाइने कार्यालयले जनाएको छ।