काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका तीन वटा सडकखण्डमा ‘वानवे’ बनाइने भएको छ। सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा हाल दोहोरो सवारी सञ्चालन भइरहेका तीन वटा सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो।
काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइने छैन। त्यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञा भवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने महानगरपालिकाले जनाएको छ।
पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन। यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी महानगरको छ।