काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमका जहाज पालैपालो ग्राउण्डेड भएपछि व्यवस्थापनसँग जवाफ मागेका छन्।
मन्त्री किरातीले सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर जहाज ग्राउण्डेड हुनुको कारणबारे जवाफ मागेका हुन्।
उनले यसमा कसको के कमजोरी हो भन्ने पत्ता लगाइ आफूलाई जानकारी गराउन निर्देशन दिएका छन्। सोमबार पर्यटन मन्त्रालयमा गरिएको छलफलमा मन्त्री राईले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी लगायत सहभागी संचालक समितिका सदस्यलाई तत्काल कमजोरी पत्ता लगाउन निर्देशन दिएका हुन्।
अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ४ वटा जहाज रहेकामा एउटा वाइड बडी जहाज करिब २ सातादेखि ग्राउण्डेड छ भने तीन महिनासम्म ग्राउण्डेड एउटा न्यारोबडी जहाज इजरायलमा भाडाको इन्जिन राखेर ल्याइएको दुई सातामा दोस्रोपटक ग्राउण्डेड हुन पुगेको छ। जसका कारण निगमले कतिपय गन्तव्यका उडान रद्द गर्नुपरिरहेको छ। यसबाट उसले दैनिक ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको छ।