रसुवा। हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ। गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो।
वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् । ती मध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार छ सय ५२ जना तथा नौ हजार ५६ जना आन्तरिक पर्यटक छन् । निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत ४५ लाख रुपैयाँ आय भएको बताइएको छ।