गोरखा। पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ। वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक तीन महिनादेखि अवरुद्ध भएको हो।
सडक सञ्चालनमा अआउदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्। अवरुद्ध सडक मर्मतसम्भारका लागि गाउँपालिकाले समेत आवश्यक पहल नगरेको स्थानीयको गुनासो छ।
बारपाक–लाप्राक सडकखण्ड विसं २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नति सुरु भएको थियो। ठेक्का सम्झौता भएको झन्डै ४१ महिना भइसक्दासमेत स्तरोन्नति सकिएको छैन। पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो।
तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने गरी म्याद थप गरेको थियो। थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र छ।
समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको छ।