संखुवासभा। चट्याङले टेलिकमकाे टावरमा क्षति पुर्याएपछि संखुवासभाको भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ। मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको हो।
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ को किमाथाङ्काबाहेक सबै वडा सम्पर्कविच्छेद भएको छ । गत असोज १७ गते राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ।
टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन् । अवरुद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीले जनाएको छ। उनले टेलिफोन सेवा मर्मतका लागि मङ्गलबार प्राविधिक टोली भाटभटेनी प्रस्थान गरिसकेको समेत कार्यालयले जनाएको छ।