काठमाडौं। खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि अवरुद्ध भएको छ। लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाज अवतरणमा समस्या हुने हुँदा गत शनिबारदेखि दुई सय भन्दा बढी उडान रद्द भएको नागरिक उड्ययान प्राधिकरण रामेछापले जनाएको छ।
पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिरहेकामा हेलिकप्टरका लागि पनि भिजिविलिटि कम भएको प्राधिकरणले जनाएको छ।
तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् । तर शनिबारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन नसकेको प्राधिकरणले जनाएको छ।
निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित बनिरहेका छन् । कति पर्यटकले आफ्नो देश फर्कन टिकट नै लिइसकेका बताएका छन् ।