काठमाडौं। आज देखि रामेछाप, मन्थली–लुक्ला उडान पुनः सुचारु भएको छ । खराब मौसमका कारण गत शनिबारदेखि अवरुद्ध उडान आज मौसममा सुधार आएसँगै सुचारु भएको हो।
५ दिनदेखि मौसममा सुधार नहुँदा पर्यटकहरु मन्थलीमै रोकिएका थिए। यसबीचमा केही पर्यटकहरु फाप्लुको उडानमार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने कार्गो हेलिकप्टरमार्फत उडान गरि गन्तव्यतर्फ लागेका थिए।
आज बिहानदेखि उडानहरु सुचारु भएसँगै यात्रुहरु आ–आफ्नो गन्तव्यका लागि हिँडिसकेका छन्।
पर्यटक मौसम शुरु भएसँगै लुक्लाका लागि पर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ । यद्यपि, विगत केही समययता लुक्लाका लागि काठमाडौँबाट नभई रामेछापको मन्थलीबाट–लुक्ला उडान हुँदै आएको छ । यस विमानस्थलबाट तारा, समिट र सिता एअरले उडान गर्दै आएका छन् ।
सफा मौसममा यस लुक्ला विमानस्थलमा दैनिक ४० भन्दा बढी उडान हुने गरेको छ।