कास्की। कास्की जिल्लाको महेन्द्रपुलमा ९५ लाख लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरपालिकाको साझेदारीमा पोखराको मुख्य बजार महेन्द्रपुलमा शौचालय निर्माण गरिएको हो।
नवनिर्मित शौचालयको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एनआरएनएका अध्यक्ष रविना थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
आठ आना क्षेत्रफलमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालयमा चमेना गृह, बगैँचा र शौचालयभित्र स्तनपान कक्षसहित सेनेटरी प्याड पनि उपलब्ध हुने छ।
अत्याधुनिक सार्वजनिक शौचालय निर्माणसँगै पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अप्ठ्यारो परिस्थितिमा दिसापिसा गर्नका लागि सहजता मिल्ने विश्वास स्थानीय एवं समाजसेवी नरेन्द्र लालचनले बताए।
नगरप्रमुख आचार्यले शौचालय निर्माणसँगै यसको उचित सदुपयोग र संरक्षण गर्ने दायित्व प्रयोगकर्ता सबैको भएको बताए
उनले शौचालयमा जम्मा हुने दिसापिसावबाट बायो ग्यास निकालेर चमेनागृहमा प्रयोग गरिने योजना महानगरले अगाडि सारेको समेत जानकारी दिए।
एनआरएनएका अध्यक्ष एवं मेगा प्रोजेक्ट संयोजक रविना थापाले शौचालय निर्माणले पोखराको स्वच्छता प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गरे। सङ्घले पोखरा महानगरपालिकाको साझेदारीमा अन्य योजना निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाइ छ।