तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकाको सहीद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे–थप्रेक सडक स्तरोन्नति गरिने भएको छ। सङ्घीय सरकारको दुई करोड लागतमा यस वर्ष करिब चार किलोमिटर दूरीमा स्तरोन्नति गर्न लागिएको हो।
शुक्लागण्डकी–१ कोत्रेदेखि व्यास नगरपालिका–६ स्थित सिन्धुमार्गमा जोडिएकाले राजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको बताइएको छ। कुनै कारणवश दमौली–कोत्रे खण्डको राजमार्ग अवरुद्व भएको अवस्थामा उक्त मार्ग प्रयोग गरी पोखरा, लमजुङ, गोरखा, चितवन, काठमाडौँ लगायतका मुख्य सहरमा आवतजावतमा सहज हुने बताइएको छ ।
यसअघि करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ भने बाँकी चौध किमी सडकमा ग्राभेल गरिएको छ । त्यसैगरी बहुवर्षीय योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारले सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरिसकेको नगरपालिकाले जनाएको छ ।