बागलुङ। बागलुङ जिल्लाका स्थानीय तहले चाडपर्वलक्षित गरेर सडक मर्मत गर्न सुरु गरेका छन्। जिल्लाका १० वटै स्थानीय तह दशैंअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन्।
प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् ।
जैमिनी नगरपालिकाले वर्षामा आएको भेलबाढीले बिगारेको सडक मर्मत, गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर धमाधम काम गरिरहेको छ। सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन् ।
बागलुङ नगरपालिकाले पनि यो वर्ष सडक सरसफाइ र मर्मतका लागि प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट नै विनियोजन गरेको थियो । सबै वडामा मर्मत र सरसफाइको काम सकिएको बताइएको छ।
दशैं लक्षित मात्रै नभई बाढीपछि भत्केका संरचना पुनःनिर्माण समेत गरिरहेको स्थानीय तहले जनाएका छन् । आफ्नो अधिकार क्षेत्रभित्रका सडक संरचना मर्मत गर्ने र सङ्घ तथा प्रदेश सरकारको जिम्मेवारीमा रहेका सडक मर्मतका लागि ध्यानाकर्षण गराइरहेको बडिगाड गाउँपालिकाले जनाएको छ।
ग्रामीण क्षेत्रका कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयले बाटो मर्मत, सफा गर्ने कामसमेत गरिरहेका छन् । दसैँलाई लक्षित गरेर सडकका खाल्डाखुल्डी धमाधम पुरिएका छन् । सडकमा साना–ठूला डोजर र लोडर चलिरहेका छन् ।