फुङ्लिङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा प्राकृतिक सुन्दरता कायम छ। यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ। जाति र ठाउँको नाम हो, तोक्पेगोला। मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ।
समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि १ किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ। गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ।
हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो । अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ ।