तस्बिर: कान्तिपुर
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–७ को हावेडन्डी–हिरापानी सडक निर्माणमा काम गरेका मजदुर ज्याला नपाएपछि समस्यामा परेका छन्। डिभिजन सडक कार्यालय खाल्टेअन्तर्गत ८ दशमलव ३ किलोमिटर रिङरोड सडक निर्माणको काममा खटिएका मजदुरलाई ज्याला नदिइ निर्माण व्यवसायी बेपत्ता भएका हुन्।
दुई दर्जन मजदुरले काम गरेको ज्याला नपाएपछि हारगुहारमा लागेका छन्। उक्त सडक निर्माणको काम कालिका–वेदश्री र विकास जेभीले १७ करोड ८१ लाख रुपैयाँमा पाएको थियो । कामको जिम्मा लिएका विकास जेभीका सञ्चालक मन्टु भनिने नन्दकिशोर साह बिलको रकम लिएर बेपत्ता भएको मजदुरहरुको आरोप छ ।
२२ जनाको समूहबाट काम गरेका तीनपाटन गाउँपालिका–११ का खुनबहादुर सिंजाली काम गरेको पैसाले दसैं खर्च धान्ने आशमा बसेका सबै मजदुरको ओठतालु सुकेको बताएका छन् ।
एक महिना काम गरेको १८ हजार भुक्तानी पाउनुपर्ने रकम उपलब्ध नहुँदा छोराछोरीलाई कपडा किन्नसमेत नपाएको मजदुरहरुको भनाइ छ।
जेभीका सञ्चालक साहले सडक निर्माणको काम दोहोरो कागज गरेर दुधौली नगरपालिकाका अंशु नेसनल इन्टरप्राइजेजका प्रोपाइटर अंशु गिरीलाइ जिम्मा दिएका थिए । गिरीले जेभीका सञ्चालक साहले रकम लिएर भागेपछि मजदुरलाई भुक्तानी गर्न नसकेको बताएका छन् ।
डिभिजन सडकबाट ९१ लाख रुपैयाँ भुक्तानी लिएर फोन स्विच अफ गरेर बसेकाले मजदुरलाई भुक्तानी दिन नसक्दा आफू बिचल्लीमा परेको गिरीले दुखेसो पोखे ।
जेभी सञ्चालक साहलाई खोज्न भुक्तानी पाउनुपर्ने मजदुरलाई साथमा लिएर सिरहाको लहान घरमा पुग्दासमेत नभेटिएको उनको भनाइ छ । कान्तिपुरबाट