रूपन्देही। लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयले पेस गरेको अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिए।
त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरिएको छ। त्यसै गरेर सिकलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्नासम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ ।