कञ्चनपुर। कञ्चनपुरमा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग कञ्चनपुरले कञ्चनपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न थालेको हो।
राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले नापी सकिएका ठाउँका स्थानीयलाई धमाधम जग्गाधनी पुर्जा वितरण भइरहेको जानकारी दिए।
उनका अनुसार अहिलेसम्म यहाँको वेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गरिएको छ । वेदकोट नगरपालिका–८ का ७० र कृष्णपुर नगरपालिका–७ का ६५ गरेर कुल एक सय ३५ जनालाई जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको छ ।
उपभोग गरेको वर्षौँपछि जग्गाधनी पुर्जा पाएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन् ।