तनहुँ। बन्दीपुरमा १७ तले ‘‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटलको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको हो।
बन्दीपुर केबलकार एण्ड टुरिजमका अनुसार करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ ।
सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ। केबलकारको प्रवेशद्वारमा २६ करोड रुपैयाँको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ ।
जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ । एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन् ।