चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा १५ लाख लागतमा पुल निर्माण गरिएको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो ।
पुल निर्माणका लागि ३० प्रतिशत श्रमदानको काम गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेपछि पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए ।
उनले पुल निर्माणका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । पुल निर्माण भएपछि दसैँका अवसरमा पुल सञ्चालनमा आएको छ ।
गुरुङले भने, “पलिकामा सरसफाइ, कुलो निर्माण, विद्यालय र बाटोघाटो निर्माणमा पनि श्रमदान गरिएको छ। यसले विकास निर्माणलाई पारदर्शी बनाउनेछ । जनसहभागिताका लागि नागरिक उत्साहित छन् ।” उनले पालिकामा सबै विकास निर्माणका काममा श्रमदान गर्ने योजना रहेको र न्यूनतम १० प्रतिशत श्रमदान अनिवार्य गरेको बताए ।